Header Ads

ad728
  • Breaking News

    युरोपबाट फर्केर होटलमा लगानी 1.8K SHARES संग्रह चैत्र १४, २०७४अगन्धर तिवारी पर्वत — युरोपका तीन मुलुकमा उनले बस्न पाउने ग्रिन कार्ड छ । बेल्जियममा उनको इटालियन रेस्टुरेन्ट सञ्चालनमा छ, काठमाडौंको गोंगबुमा घर । कुश्मा ५ का ४८ वर्षीय ओमप्रसाद श्रेष्ठ यी सबै छाडेर तीन वर्षअघि जन्मथलो फर्किएका छन्। उनी हाल राम्रै लगानीमा होटल सञ्चालनको तयारीमा छन् । युरोप रहँदाको सीप र त्यहाँको कमाइ खर्चेर कुश्माको लभ्लीडाँडामा ४ रोपनी जमिन लिएर सुविधासम्पन्न होटल बनाउन कस्सिएका हुन् । करिब ६ करोडको जग्गामा ३ करोड खर्चेर उनले सात तले भवनमा लिफ्ट, भ्यूटावर र रिभल्भिङ चियरसहितको अत्याधुनिक होटल सञ्चालन गर्न लागेका हुन् । मध्यम वर्गीय परिवारका श्रेष्ठले २०४५ देखि दुइ वर्ष कुश्मामै कपडा पसल गरेका थिए । त्यसपछि दुई दशकसम्म विदेशमा रहँदा केही समय होटलमा काम गरेका उनले नेपाल फर्किने बेला बेल्जियममा इटालियन रेस्टुरेन्ट सञ्चालन गरेका थिए । उक्त रेस्टुरेन्ट अझै पनि सञ्चालनमा छ । उनले भने, ‘आत्मसन्तुष्टिका लागि आफ्नै जन्मथलोमा केही गरौं भनेर लगानी गरेको हुँ ।’ कुश्माको लभ्लीडाँडामा सञ्चालनमा आउन लागेको होटल माउन्टेन भ्यूबाट कालीगण्डकी र मोदीको खोंचमा निर्मित आधा दर्जन अग्ला तथा लामा झोलुंगे पुल, कालीगण्डकीको दृश्यावलोकन गर्न सकिन्छ । होटलबाट माछापुच्छ्रे, अन्नपूर्ण र गुर्जा लगायतका हिमालको दृश्य नजिकै छ । कालीगण्डकीतर्फको पारदर्शी लिफ्टबाट र्‍याफटङ र अन्य मनोरम दृश्यावलोकन गर्न सकिन्छ । उनले छैटौं तलामा पारदर्शी सिसाको झ्याल र रिभल्भिङ चियर (मोटरबाट घुम्ने कुर्ची) र सातौं तलामा आकर्षक भ्यू–टावर निर्माण गर्दैछन् । त्यहाँबाट पर्वत, बाग्लुङ र गुल्मीका अधिकांश भाग देख्न सकिन्छ । लामो समय विदेश बिताएका छोरालाई आफ्नै सल्लाहमा घर फर्काएको आमा पदमुकुमारी बताउँछिन् । ‘बाबुको सपना पूरा गर्न जन्मठाउँमै केही गर्न भनेकी थिएँ,’ उनी भन्छिन्, ‘अहिले खुसी लागेको छ ।’ श्रीमती राममायाले राजधानी बस्न दबाब दिए पनि उताको घर भाडामा लगाएर ओमप्रसाद र आमा पदमकुमारी यतै बस्ने सोचमा छन् । ‘अब उता (राजधानी) फर्किन्नँ । आम्दानी नभए पनि बाँकी उमेर यहीं बिताउने हो,’ श्रेष्ठले भने । उनको लगानी र उत्साहले कुश्माका अन्य पर्यटन व्यवसायीलाई थप ऊर्जा मिलेको छ । ‘उहाँको सोच र लगानी कुश्माकै गहना हो,’ पर्वत पर्यटन परिषदका अध्यक्ष शिव शर्मा पौडेलले भने, ‘कुश्मा आउने पर्यटक बसोबासको समस्याले अब अन्त जानुपर्दैन ।’ पर्यटकीय सहर एवं प्रदेश ४ को राजधानी पोखरा तथा हिन्दु र बौद्ध धर्मका धार्मिक पर्यटकको केन्द्र मुक्तिनाथको बीचमा परेकाले पनि पर्वतमा पर्यटनमा प्रशस्त सम्भावना भएको उनी बताउँछन् । त्यो बाहेक पर्वतमा पछिल्लो समय बनेका अग्ला र लामा पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, बलेवा विमानस्थल र कुश्मा–बलेवा बन्जीजम्प लगायतले पनि कुश्मामा पर्यटकीय सम्भावना बढ्न थालेकोमा व्यवसायी उत्साहित छन् । ‘अब थपिने पर्यटकका लागि व्यवस्थित बसाइँमा जोड दिनुपर्छ,’ होटल व्यवसायी विसम श्रेष्ठ भन्छन्, ‘लभ्लीडाँडामा बन्दै गरेको होटलले हामीलाई पनि ऊर्जा थपेको छ ।’ श्रेष्ठको निर्माणाधीन होटलमा २१ कोठा छन् । तीन सय सिट क्षमताको सेमिनार र सय सिट क्षमताको बैठक कोठा होटलभित्रै छन् । यस्तै सवारीसधानका लागि अन्डरग्राउन्ड पार्किङ पनि छ ।

    No comments

    https://dent.app.link/5PxNyc9xbU   

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728